News पाल्पाः न्यू होराइजन र बेथललाई उपाधि
गोलनेपाल

तानसेन । पाल्पा जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सम्पन्न एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगितामा छात्रतर्फ न्यू होराइजन मावि र छात्रातर्फ बेथल बोर्डिङ् स्कुल तानसेनले उपाधि जितेको छ ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको छात्रतर्फको फाइनलमा न्यू होराइजनले देववाणी साधारण तथा संस्कृति माविलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । न्यूहोराइजनकातर्फबाट केभिन सारु र किरन पुनले गोल गरे । उता देववाणीकातर्फबाट धनबहादुर सारुले गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच किरन पुन भए ।

विजेता बनेको होराइजनले १५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपबिजेता बनेको देववाणीले ८ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

छात्रातर्फ भने ९ अंक बटुलेको बेथल बोर्डिङ् पहिलो भयो । ४ अंक बटुलेको प्यारागन दोस्रो भयो । आयोजक पाल्पा जिल्ला फुटबल संघले पहिलो हुनेलाई १० हजार र उपबिजेता हुनेलाई ५ हजार नगद, ट्रफी, प्रमाणपत्र पाए । विद्यागत छात्रतर्फ अधिकगोलकर्ता सेन्ट कपितानियोका एलेक्स तामाङ्, उकृष्ट रक्षक न्यू होराइजनका सफल बहादुर दर्लामी, उत्कृष्ट मिड फिल्डर देववाणीका कोशिष कुमाल, अधिक गोलकर्ता न्यू होराइजनका अदिस अधिकारी, उत्कृष्ट खेलाडी देववाणीका कृष्ण बहादुर सिंजाली भए ।

त्यस्तै छात्रातर्फ सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी बेथलकी सुविक्षा गुरुङ, उकृष्ट रक्षक बेथलकै सेरिन बराल, उत्कृष्ट मिड फिल्डर प्यारागनकी निकिता राना, उत्कृष्ट गोलकिपर बेथलकै गुराँस गाहा भए ।

बिजेता तथा उपबिजेता खेलाडीलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय बीरजंग राणा लगायतले पुरस्कृत गरेका थिए ।

विद्यालयस्तरबाट खेलाडी छनोट गर्न अखिल नेपाल फुटबल संघले जिल्लामा प्रतियोगिता आयोजना गरेको हो । जिल्लाबाट प्रदेशस्तरीय प्रतियोगितामा खेलाडी छनोट गरेर टिम सहभागी गराइने पाल्पा जिल्ला फुटबल संघका जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक करण चित्रकारले बताए ।

Post Comments