काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौट प्रतियोगितातर्फ समूह जी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा हारका साथ प्रतियोगितामा खराब शुरुवात गरेको छ ।
शनिबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी सिरियासँग २–४ ले पराजित भएपछि प्रतियोगितामा खराब शुरुवात गर्न बाध्य बनेको हो ।
सोही समूहतर्फको अर्को खेलमा आयोजक म्यानमारले अफगानिस्तानलाई ३–१ ले पराजित गर्यो । अब २४ नोभेम्बरका दिन दोस्रो खेलमा नेपालले आयोजक म्यानमार कै सामना गर्नेछ । सोही दिन सिरियाले भने ओमानसँग खेल्नेछ ।
समूह जी मा आयोजक म्यानमारसहित नेपाल, ओमान, सिरिया र अफगानिस्तान गरी कुल पाँच टोलीहरु सहभागि छन् । त्यस्तै दक्षिण एसियाका अन्य टोलीहरुले भने मिश्रित नतिजा हात पारेका छन् । समूह ए मा रहेको बंगलादेशले टिमोर लिस्टेलाई ५–० ले हराउँदै विजयी शुरुवात गर्यो । सोही समूहमा रहेको श्रीलंकाले ब्रुनेईमाथि ४–० को जित निकाल्यो ।
त्यस्तै समूह बी मा रहेको पाकिस्तानले कम्बोडियामाथि ३–१ को जित दर्ता गर्यो भने समूह डी मा रहेको भारतले प्यालेस्टाईनसँग १–१ को बराबरी खेल्न बाध्य बन्यो । त्यसैगरी समूह ई मा रहेको भुटानले बलियो जोर्डनसँग ५–० को हार बेहोर्दा समूह एफमा रहेको माल्दिभ्सले मंगोलियासँग १–० ले नतिजा सुम्पिन पुग्यो ।
प्रत्येक समूहको शिर्ष टोली अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनौट हुनेछ ।