माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दुधे यूथ क्लब झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार भएको खेलमा दुधे झापाले पाहुना टोली कञ्चनजंघा फुटबल क्लब सिलगुडी, भारतलाई ७–२ ले पराजित गर्दै शानदार जित हात पारेको हो। दुधेको जितमा निमा तामाङ र प्रदीप बुढाठोकीले ह्याट्रिक गरे भने सञ्जोग मगरले एक गोल जोडे। सिलगुडीका लागि पुजन सुब्बा र अभिषेक ठकुरीले एक–एक गोल फर्काए। खेलको ‘म्यान अफ द म्याच’ दुधेका निमा तामाङ घोषित भए।
पहिलो हाफमै ४–० को बलियो अग्रता बनाएको दुधे झापाले दोस्रो हाफमा पनि आक्रमक प्रदर्शन जारी राख्यो। ५५औं मिनेटमा निमा र ५९औं मिनेटमा प्रदीपले ह्याट्रिक पूरा गरे। अन्त्यतिर सिलगुडीले दुई गोल फर्काए पनि हार टार्न सकेन।