चपरहट्टी । संघार समूह, भलुही रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
मंगलबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ संघार समूहले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई २–० ले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।
संघार समूहको जितमा दुवै गोल मन्जिल आले मगरले गरे । संघारका लागि निर्णायक दुई गोल गरेका मन्जिल आले नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंसिर १० गते बुधबारको चौथो प्रिक्वाटरफाइनल खेल डिएस युनाइटेड, दिपनगर र शिवपुर युवा परिवार, शिवपुर बीच हुने खेल संयोजक युवराज थापाले जानकारी दिए ।
सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १९ गतेका दिन हुनेछ ।