News वार्ड नम्बर ४ लाई टाईब्रेकरको सहारा
गोलनेपाल

दुहबी । सुनसरीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितातर्फ संघर्षपुर्ण जित हात पार्दै वार्ड नम्बर ४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ५ लाई टाईब्रेकरमा ३–१ ले हराउँदै वार्ड नम्बर ४ ले क्वाटरफाइनल यात्रा तय गरेको हो ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफाटो टाईब्रेकरबाट लिनु परेको थियो । टाईब्रेकरमा वार्ड नम्बर चारका लागि अबल दुलाल, इम्तियाज मिया र सुरज राजवंशीले गोल गरे भने मुकेश चौधरीले गोल गर्न असफल भएका थिए ।

उता वार्ड नम्बर ५ को तर्फबाट सुजित कार्कीले मात्र गोल गर्न सफल भए । प्रणव खत्री, जोशन राई र सुलभ चौधरी गोल गर्नबाट चुकेका थिए । खेलको म्यान अफ द म्याच भने वार्ड नम्बर ४ का गोलरक्षक बिरबल आलम घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे ।

प्रतियोगिता अन्तरगत माघ २१ गते बुधबारको खेल वार्ड नम्बर ६ र ११ बीच हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ २८ गतेका दिन हुनेछ ।

Post Comments