सुन्दरहरैचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक गछिया युवा समाजले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। दोस्रो खेलमा आयोजक टोलीले लेजेन्ड फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
सुन्दरहरैचा वडा नम्बर २ का वडा अध्यक्ष दिवश प्रधान प्रमुख अतिथि रहनुभएको खेलमा आयोजक टोलीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्यो। खेलको १२ औँ मिनेटमा जर्सी नम्बर ९ प्रदीप बुढाथोकीले गोल गर्दै अग्रता दिलाए। १९ औँ मिनेटमा जर्सी नम्बर ८ सन्तोष क्षेत्रीले टोलीको दोस्रो गोल थपे। पहिलो हाफभर लेजेन्ड एफसीले केही प्रयास गरे पनि गोल गर्न सकेन।
दोस्रो हाफमा आयोजक टोली झन् आक्रामक बन्यो। ५ औँ मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो तथा टिमको तेस्रो गोल गरे। २० औँ मिनेटमा जर्सी नम्बर १७ विजय उराँवले गोल गर्दै अन्तर ४–० पुर्याए। त्यसपछि २२ औँ र ३० औँ मिनेटमा प्रदीपले व्यक्तिगत तेस्रो र चौथो गोल गर्दै स्कोर ६–० बनाए। ३५ औँ मिनेटमा विजय उराँवले आफ्नो दोस्रो गोल गर्दै टिमको जित ७–० मा सुनिश्चित गरे।
उत्कृष्ट प्रदर्शनका आधारमा प्रदीप बुढाथोकी ‘म्यान अफ द म्याच’ घोषित भए। उनी ५,१०० रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए।
हिजो सम्पन्न पहिलो खेलमा सहलेश युवा क्लब सिराहाले बेलबारी फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। भोलि गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर) र जलथल फुटबल क्लब (झापा) बीचको खेल दिउँसो ३ बजे सुरु हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिनुभयो।
प्रतियोगितामा विजेताले २ लाख १ हजार रुपैयाँ, उपविजेताले १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’ले २५ हजार तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ११ हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै, सुन्दरहरैचा नगरपालिका–१२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा २ जनालाई व्हिलचेयर प्रदान गरिनेछ। स्थानीय खेलाडीहरूको दीर्घकालीन योगदानलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो।
गोल्डकपमा कुल ८ टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिता मंसिर २२ गतेसम्म सञ्चालन हुने छ।