बाग्लुङ नगरपालिका–१ बाङ्गेचौरको खेलमैदानमा आइतबारदेखि सुरु भएको तेस्रो बाग्लुङ मेयर कप पालिका स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिताको क्वार्टरफाइनल चरण मंगलबार सकिएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताबाट सेमिफाइनलमा पुग्ने चार टोलीको नाम तय भएको छ। घरेलु बाग्लुङ सेतो भने छिमेकी म्याग्दीको बेनी नगरपालिकासँग पराजित हुँदै बाहिरिएको छ।
दिनको पहिलो क्वार्टरफाइनलमा गण्डकी प्रदेश प्रहरी पोखरा र कटारी नगरपालिका उदयपुरबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको भिडन्तको निर्णय पेनाल्टी सुटआउटबाट निकालियो। पेनाल्टीमा उदयपुरका गोलरक्षक सागर मगर हिरो बने। उनले गण्डकी पोखराका दुई प्रहार रोक्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए। उत्कृष्ट प्रदर्शन गर्दै उनी ‘म्यान अफ द म्याच’ बने र नगद रु २,००० सहित ट्रफी हात पारे।
दोस्रो क्वार्टरफाइनलमा घरेलु समर्थकको साथ पाएको बाग्लुङ नगरपालिका सेतोले बेनी नगरपालिका म्याग्दीको चुनौती सामना गर्यो। तर, निर्णायक क्षणमा बजारिएको म्याग्दीले २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो। म्याग्दीका विनम थजाली दुवै गोलका शिल्पी बने र खेलका ‘म्यान अफ द म्याच’ समेत घोषित भए।
बाग्लुङ सेतोका विशाल घलानले खेल अन्त्यतिर एक गोल फर्काए पनि त्यो टिमलाई जोगाउन पर्याप्त बनेन।
बुधबार दुईवटै सेमिफाइनल खेल हुनेछन्।
-
बिहान ११ बजे : बाग्लुङ नगरपालिका निलो vs कटारी नगरपालिका उदयपुर
-
दिउँसो १ बजे : पैयुँ गाउँपालिका पर्वत vs बेनी नगरपालिका म्याग्दी
प्रतियोगिताको विजेताले रु ३,३३,३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु २,२२,२२२ पाउनेछ। दस टोलीको सहभागिता रहेको प्रतियोगिता मंसिर १८ गते सम्पन्न हुनेछ।