News तीनदेशीय सिरिजः नेपालको दुवै खेलमा पराजय
गोलनेपाल

काठमाडौं । आयोजक इण्डोनेसिया र चाइनिज ताइपेई सम्मिलित तीनदेशीय अन्तर्राष्ट्रिय महिला सिरिज फुटबल प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले दुवै खेलमा पराजय बेहोर्दै इण्डोनेसिया भ्रमण टुंग्याएको छ ।

गत साता मात्रै इण्डोनेसिया पुगेको ८७औं वरियताको नेपाली टोलीले आफ्नो पहिलो खेलमा १०६औं वरियतामा रहेको तुलनात्मक रुपमा औषत आँकिएको घरेलु टोली इण्डोनेसियासँग २–१ पराजित हुन पुगेको थियो ।

सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पनि नेपालले निराशा नै हात पार्यो । फिफा वरियताको ४२औं स्थानमा रहेको बलियो चाइनिज ताइपेई विरुद्ध नेपालले रक्षात्मक रणनीतिका साथ खेले तापनि १–० ले हार बेहोर्न बाध्य बन्यो ।

नेपालले ताईपेईलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके तापनि दोस्रो हाफमा भने गोल खान पुग्यो । ५३औं मिनटमा के–सिनले गरेको हेड गोल नै नेपाल विरुद्ध ताइपेईको निर्णायक गोल बन्यो ।

समग्रमा नेपालको इण्डोनेसिया भ्रमण सुखद बन्न सकेन । सन् २०२६ अर्थात अर्को वर्ष हुने साफ महिला च्याम्पियनसिप बाहेक आगामी दिनमा राष्ट्रिय महिला फुटबल टोलीले खेल्ने अन्तर्राष्ट्रिय खेल वा प्रतियोगिताको टुंगो लागेको छैन । प्रायः राष्ट्रिय टोलीका खेलाडीहरु केही दिन मै शुरु हुने साफ क्लब च्याम्पियनसिपमा व्यस्त हुनेछन् ।

तर, इण्डोनेसिया भ्रमणले अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अझै कडा मेहनत गर्नुपर्ने स्पष्ट देखिएको छ ।

Post Comments