बुटवल । एन्फा एकेडेमी, झरना स्पोर्टस क्लब र जनज्योति क्लब रुपन्देहीमा जारी स्व. निशान न्यौपाने स्मृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको क्वाटरफाइनलतर्फ एन्फा एकेडेमीले लुम्बिनी सिटी कलेजलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा एन्फा एकेडेमीका गोलरक्षक विप्लप गुरुङ प्लेयर अफ दि म्याच चुनिए ।
त्यस्तै झरनाले न्यु होराईजन स्पोर्टस क्लबलाई १–० को अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो । झरनाको जितमा अशोक घर्ती मगरले एक मात्र निर्णायक गोल गरे । खेलमा झरना कै निखिल थापा प्लेयर अफ दि म्याच बने ।
त्यसैगरी अर्को क्वाटरफाइनलमा जनज्योतिले भूपू सैनिक जवई स्र्पोटिङ क्लबलाई ७–२ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । जनज्योतिको जितमा अस्मित शर्मा र बिजन सुर्यवंशीले समान दुई–दुई गोल गरे भने अंकित बोहरा, गगज रजाली र रोहन राईको नाममा समान एक–एक गोल रह्यो । उता पराजित भूपू सैनिकका लागि दुवै गोल भरत काउचाले गरे । खेलमा जनज्योतिका अस्मित शर्मा प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै शुक्रबार नै एउटा प्रिक्वाटरफाइनल खेल पनि सम्पन्न भयो । जसमा आयोजक गोर्खा ब्वाईज स्पोर्टस क्लबले रानीगंज एफसीलाई १–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । गोर्खा ब्वाईजका लागि सरोज दर्लामीले एक मात्र निर्णायक गोल गरे । खेलमा गोर्खा ब्वाईजका सदिप केसी प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत पुष १२ गते शनिबार बिहान एक क्वाटरफाइनल खेल र बेलुका दुई सेमिफाइनल खेल हुने खेल संयोजक सन्दिप बयम्बुले जानकारी दिए ।
गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,००१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३५००१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही पुष १४ गतेका दिन हुनेछ ।