इस्मा । शुक्रबार भएको दुई सेमिफाइनलतर्फ आ–आफ्नो खेल जित्दै महेन्द्र मावि र पालुखा मावि गुल्मीमा जारी छैठौं फोर्टिन स्टार कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
दिनको पहिलो खेल र पहिलो सेमिफाइनलमा महेन्द्र माविले उपल्लो तम्घासलाई २–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो । महेन्द्र माविको जितमा रमित श्रेष्ठ र भुषण खत्रीले गोल गरे ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा पालुखाले रेसुङा माविलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै उपाधि नजिक पुग्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ पालुखाका लागि रमेश मुखिया र सन्तोष मुखियाले गोल गरेका थिए भने रेसुङाका लागि आदेश बिक र जेनिश मगरले गोल गरेका थिए ।
अब पुष १२ गते शनिबार हुने फाइनलमा महेन्द्र मावि र पालुखा मावि उपाधिका लागि भिड्नेछन् ।
फोर्टिन स्टार युवा क्लब, तम्घास, गुल्मीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।