बुटवल । मोफसलको सफल र परिचित मध्ये एक गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल, रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम स्व. निशान न्यौपाने स्मृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि जनज्योति क्लब, डिंगरनगरले जितेको छ ।
सोमबार भएको फाइनलमा जनज्योतिले आयोजक गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई २–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । बुटवल–११, देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा जनज्योतिका लागि अस्मित शर्मा र बिजन सुर्यवंशीले गोल गरे ।
विजेता बनेको जनज्योतिले उपाधिसहित नगद ६०,००१ रुपैयाँ हात पार्यो भने उपविजेता गोर्खा ब्वाईजले ३५,००१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । जनज्योतिका कप्तान अस्मित शर्मा फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक जनज्योतिका सत्यम श्रेष्ठ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार जनज्योति कै अस्मित शर्मा र बिजन सुर्यवंशीले संयुक्त रुपमा हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने गोर्खा ब्वाईजका सदिप केसी घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक गोर्खा ब्वाईज स्पोर्टस क्लबका अध्यक्ष बुद्धि बहादुर गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, कार्यक्रम व्यवस्थापक सन्तोष शाही (चित्र) लगायतले पुरस्कृत गरेका थिए ।