फर्साटिकर । आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीमा जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा फर्साटिकरले मोन्स्टर गाईज, सुनवललाई ४–० को अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । फर्साटिकरको जितमा अवतार थापाले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरे । थप एक गोल भने निजाम अलीले गरे ।
खेलमा ह्याट्रिक गरेका फर्साटिकरका अवतार थापा म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत पुष १९ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल सिद्धार्थ क्लब, चपरहट्टी र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने खेल संयोजक रवि खड्काले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए । फाइनल खेल यही पुष २६ गतेका दिन हुनेछ ।
