काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो विधान र प्रचलित कानुन अनुसार आवश्यक संशोधन गरेर मात्र एन्फाको साधारण सभा र निर्वाचन प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ ।
एन्फाको यही पौष १६ गते बसेको कार्यसमिति बैठकको निर्णयले साधारण सभाका लागि स्वीकृति र प्रतिनिधि उपलब्ध गराइदिन राखेपसँग अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा युवा तथा खेलकुद मन्त्रालयको पत्र र राष्ट्रिय खेलकुद विकास ऐन तथा नियमावली अनुसार आवश्यक व्यवस्था गर्न राखेपले निर्देशन दिएको हो ।
अनलाईनखबरमा प्रकाशित समाचार अनुसार राखेपले एन्फाको विधानमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार परिभाषा, प्रस्तावना, संरचना र निर्वाचनसम्बन्धी व्यवस्था मिलाउनुपर्ने जनाएको छ । प्रत्येक चार वर्षमा लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन हुनुपर्ने, आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र साधारण सभा गर्नुपर्ने र निर्वाचनका लागि परिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था विधानमै समेट्नुपर्ने परिषदले पत्राचार गरेको पत्रमा उल्लेख छ ।
यस्तै, प्रदेश तथा जिल्ला संघको संरचना ऐनअनुसार पुनःव्यवस्थित गरी तहगत निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रदेशका नाम स्पष्ट उल्लेख गर्नुपर्ने तथा प्रचलित कानुनअनुसार आवश्यक सबै संशोधन गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।
उता एन्फा पक्षले भने राखेपबाट स्वीकृति आउनु अघि नै साधारणसभा र निर्वाचनका लागि आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । साथै एन्फाले आउँदो माघ २८ गतेका दिन एन्फाको निर्वाचन गर्ने मिति समेत घोषणा गरिसकेको छ ।
वर्तमान एन्फा कार्यसमितिको कार्यकाल अर्को वर्षको असारमा सकिने भए तापनि एन्प्mा हाल अली इलेक्सनको तयारीमा छ । एन्फाको सोही अली इलेक्सनको विपक्षमा केहीले विरोध समेत जनाईरहेका छन् ।