News आयोजक सञ्जिवनी सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । खेलमा शुरुवाती गोल खाएर पछि परेको स्थिति उल्टाउँदै आयोजक सञ्जिवनी युवा क्लब रुपन्देहीमा जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा आयोजक सञ्जिवनीले नव एकता युवा क्लबलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलमा नव एकताले १८औं मिनटमा मिशन दर्लामीको फ्रिकिक गोलबाट खेलमा अग्रता लिएको थियो ।

तर खेलमा उत्कृष्ट पूनःरागमन गरेको सञ्जिवनीका लागि कप्तान केशव थापाले २२औं मिनटमा बराबरी गोल फर्काए । त्यस्तै मध्यान्तरपछिको आठौं मिनटमा मनिष थापाले आयोजकका लागि दोस्रो गोल गरे भने त्यसको तीन मिनट लगतै धने थापाले तेस्रो गोल थपे । खेलको चौथो गोल भने दोसे हाफतर्फको २०औं मिनटमा रोशन सेनले गर्दै आयोजकको जित पक्का गरे ।

खेलमा आयोजकका सुर्य रानाले दोहोरो पहेंलो कार्ड खाँदे मैदान छाड्दा एक खेलाडीको कमी महशुस गरेको आयोजक सञ्जिवनीले त्यो कमीलाई खेलको नतिजासँग भने खासै प्रभाव पर्न दिएन । खेलको म्यान अफ द म्याच पराजित नव एकताका मिशन दर्लामी घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ २६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब र डिएमसी तुल्सीपुर बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन १ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन केसीले बताए ।

 

 

Post Comments