News कपिलवस्तु १३औं शुद्धोदन फर्साटिकर कपको फाइनलमा
सुरज राना मगर

फर्साटिकर । पाहुना टोली कपिलवस्तु–११ रुपन्देहीमा जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा कपिलवस्तुले लिस्नु युवा क्लब, कोटिहवालाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । फर्साटिकर खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा कपिलवस्तु ४–३ ले विजयी बनेको हो । खेलमा कपिलवस्तुका गोलरक्षक प्रतिक सुनार म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष २४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने खेल संयोजक रवि खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए । फाइनल खेल यही पुष २६ गतेका दिन हुनेछ ।

Post Comments