काठमाडौं । मोरङ जिल्ला, विराटनगर–०३ मा स्थायी रूपमा बसोबास गर्दै आउनु भएका श्री मधुकर आचार्य नेपाली फुटबल क्षेत्रको एक प्रेरणादायी नाम हुन्। उनी FIFA -२०२६ का लागि फिफा सहायक रेफ्री ( FIFA Assistant Referee ) मा नेपालबाट छनौट भएकाN छन ।
फिफा रेफ्री भनेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (FIFA) बाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको फुटबल निर्णायक (रेफ्री) हो। जसले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, खेलहरू आदि सञ्चालन गराउन पाउदछन । FIFA २०२६ का लागि FIFA Assistant Referee को रूपमा छनोट हुनु उनको निरन्तर मेहनत, अनुशासन र इमान्दारिताको उत्कृष्ट परिणाम हो।
बिद्यार्थी जीवनबाट नै बिद्यालय स्तरीय फुटबल प्रतियोगितामा उत्कृष्ट खेल खेल्दै , खेलाडी जीवनबाटै फुटबल यात्राको सुरुवात गरेका आचार्यले प्रारम्भमा ‘मोतीराम स्पोर्टिङ क्लब,सम्राट स्पोर्टिङ क्लब विराटनगर’ बाट फुटबल खेल्दै आफ्नो प्रतिभा निखारे। खेलप्रतिको लगाव, कडा परिश्रम र अनुशासित अभ्यासले उनलाई एक सक्षम खेलाडीको रूपमा स्थापित गर्यो।
त्यसपछि विभागीय टोली सशस्त्र प्रहरी बलबाट खेल्दै उनले आफ्नो पहिचान मजबुत बनाए। सानैदेखि “सत्यलाई सधैं सत्य भन्न नडराउने” स्वभावका कारण उनी खेलमैदानमा निष्पक्षता र न्यायका पक्षपाती बने। यही गुणले उनलाई क्रमशः रेफ्रीको भूमिकातर्फ आकर्षित गर्यो, जहाँ निष्पक्ष निर्णय र नैतिक साहस सबैभन्दा महत्वपूर्ण हुन्छ।
उनले सन् २०१६ मा फुटबल रेफ्रीको आधारभूत तालिम लिएर रेफ्री यात्राको औपचारिक सुरुवात गरे। त्यसपछि क्रमशः २०१८ मा राष्ट्रिय परीक्षा (वर्ग–०३), २०१९ मा राष्ट्रिय परीक्षा (वर्ग–०२), २०२० मा राष्ट्रिय परीक्षा (वर्ग–०१) उत्तीर्ण गर्दै आफ्नो क्षमताको स्तर निरन्तर उकास्दै अघि बढे ।
यही निरन्तर साधना, अनुभव र इमानदार प्रतिबद्धताले उनलाई जनवरी २०२६ का लागि FIFA Assistant Referee को रूपमा छनोट गरायो, जुन नेपाली फुटबलका लागि गर्वको विषय हो सपनालाई यथार्थमा बदल्न सकिन्छ भन्ने सन्देश स्पष्ट देखिन्छ।