ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिम स्थित सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यक्थुङ लिम्बू समुदायको महान पर्व कक्फेक्वा तङ्नाम (माघे सक्रान्ति) तथा ऐतिहासिक माघेनी मेलाको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
शनिबार फुङलिङमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले माघेनी मेला यसअघि निरन्तर हुँदै आए पनि गोल्ड कप भने पहिलो पटक सञ्चालन गर्न लागिएको जानकारी गराएका छन् ।
माघेमेला सञ्चालन समिति र सिंवा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहने माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा निम्न क्लबहरूको सहभागिता रहनेछः
• आयोजक सिंवा स्पोर्टिङ क्लब, लिङ्खिम
• जनसेवा आदर्श स्पोर्टिङ क्लब, ढुङ्गेसाँघु
• ड्रिम बोइज एफ.सी., धनकुटा
• खाम्लालुङ ग्रामीण युवा समाज, तेह्रथुम
• नाम्थोक युवा क्लब, पाँचथर
• वि.सि.एस. मेमोरियल युवा क्लब, सावादिन
• श्री लालीगुराँस स्पोर्टिङ युवा क्लब, सुरुमखिम
• कन्काई स्पोर्टिङ क्लब, झापा
प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ७५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । साथै प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट डिफेन्डर, हाई स्कोरर र बेस्ट किपरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो ।
यसै अवसरमा वृहत माघेनी मेला तथा सांगीतिक साँझ–२०८२ समेत आयोजना गरिने सांस्कृतिक संयोजक फुङनाम लिङ्खिमले जानकारी दिनुभयो । उहाँका अनुसार सांगीतिक साँझमा राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूसहित चर्चित तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई