News सतिसालेलाई छैठौं माघे संक्रान्ती कपको उपाधि
गोलनेपाल

नक्सलबारी । जनज्योति क्लब, बेलबारी–१, नक्सलबारी, मोरङको आयोजनामा सम्पन्न छैठौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सतिसाले फुटबल क्लबले जितेको छ ।

फाइनलमा सतिसालेले लेटाङ फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । सतिसालेको जितमा दुवै गोल भुवन बस्नेतले गरे । उता पराजित लेटाङका लागि सुशिल राईले एक मात्र गोल फर्काएका थिए ।

विजेता बनेको सतिसाले फुटबल क्लबले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता लेटाङले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सतिसालेका भुवन बस्नेत फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक सतिसाले कै बिपुल मगर बन्दा उत्कृष्ट डिफेन्डर पनि सतिसाले कै सबिन घिमिरे बने । उत्कृष्ट मिडफिल्डर लेटाङका सन्दिप ठाडा चुनिदा उत्कृष्ट प्रशिक्षक सतिसालेका विश्वास राई चुनिए । त्यसैगरी उदियमान खेलाडी नक्सलबारीका रेगन हमाल बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार सतिसालेका भुवन बस्नेतले हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सतिसालेका बिकास परियार घोषित भए । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालिका, मोरङका मेयर दिल प्रसाद राई लगायतले पुरस्कृत गरेका थिए ।

 

 

Post Comments