News सेकाहालाई तेस्रो तीनपोखरी कपको उपाधी
गोलनेपाल

खाँदबारी । यहाँ सम्पन्न तेस्रो तीनपोखरी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी सेकाहा सामुदायिक विकास क्लबले जितेको छ ।

बिहीबार सम्पन्न फाइनलमा सेकाहाले मकालु फ्रेन्ड्स क्लबलाई २-१ ले हराउँदै उपाधी उचाल्न सफल भएको हो । सेकाहाको जितमा अनिष राजधामीले एक गोल गर्दा अर्को एक गोल विपक्षी टोलीका रोशन आचार्यले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता मकालु फ्रेन्ड्सका लागि भने जीवन मगरले एक मात्र गोल फर्काएका थिए ।

विजेता बनेको सेकाहाले उपाधी सहित नगद २ लाख ५१ हजार हात पार्दा उपविजेता मकालु फ्रेन्ड्सले १ लाख २१ हजार सहित ट्रफी, मेडलमा चित्त बुझायो ।

सेकाहाका अनिष राजधामी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक सेकाहा कै प्रविन लिम्बू बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार मकालु फ्रेन्ड्सका जीवन मगरले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सेकाहाका कृष्ण राई घोषित भए ।

 

Post Comments