News साफ पुरुष फुटसलः नेपालको विजयी शुरुवात, पाकिस्तान पनि सफल, माल्दिभ्सको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । थाइल्याण्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपतर्फ नेपालले आफ्नो पहिलो खेलमा जित हात पार्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

शुक्रबार भएको लिग चरणको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालको जितमा दुवै गोल सरोज तामाङले गरे । उता श्रीलंकाका लागि भने मोहम्मद कुर्शितले गोल गरेका थिए । नेपालले आफ्नो दोस्रो खेल १८ जनवरीका दिन भारतसँग खेल्नेछ ।

त्यस्तै शुक्रबार नै भएको अन्य खेलहरुमा पाकिस्तानले भुटानलाई ४–२ ले हरायो । पाकिस्तानको यो पहिलो जित समेत हो । यसअघि पाकिस्तानले माल्दिभ्ससँग ७–१ को हार बेहोरेको थियो । उता भुटानको यो पहिलो हार बन्यो । भुटानले आफ्नो पहिलो खेलमा श्रीलंकासँग ३–३ गोलको बराबरी खेलेको थियो ।

त्यसैगरी शुक्रबार नै भएको अर्को खेलमा माल्दिभ्सले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै बंगलादेशलाई ६–१ को अन्तरले हरायो । बंगलादेशले भने यसअघि आफ्नो पहिलो खेलमा भारतसँग ४–४ गोलको बराबरी खेलेको थियो ।

प्रतियोगितामा दक्षिण एसियाका सातै देशका फुटसल टोलीहरु सहभागि छन् । सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।

Post Comments