News गोल बर्षा गर्दै आयोजक क्वाटरफाइनलमा
गोलनेपाल

फराकिलो जितका साथ आयोजक सन्जिवनी युवा क्लब जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ आयोजक सन्जिवनीले नव एकता युवा क्लबलाई ६–१ को फराकिलो अन्तरले हरायो ।

आयोजकको जितमा सन्नी चौधरी र टंकु लामाले दुई–दुई गोल गरे । त्यस्तै उमेश थापा र एलिस लुंगेली मगरले एक–एक गोल गरे भने थप एक गोल विपक्षी टोलीका सोवित गुरुङले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता पराजित नव एकताका लागि प्रितेश रानाले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा आयोजक सन्जिवनीका टंकु लामा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १३ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल लुम्बिनी खुकुरी एफसी र चाँदनी युवा क्लबबीच हुने खेल संयोजक कमल परियारले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments