काठमाडौं । जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएका तीन खेलहरुमा चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र प्लानिङ ब्वाईज युनाइटेडले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चित्लाङले नव जन जागृति युवा क्लबलाई २–१ ले पराजित गर्यो । चित्लाङको जितमा म्याथ्यु बाबाटुन्डे र सोलोमन लिसान्मीले गोल गरे । उता पराजित नव जन जागृतिका लागि भने उदित नारायण गोल फर्काएका थिए ।
त्यस्तै शनिबार नै दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मीले मनाङ मस्र्याङदी क्लबमाथि ५–० को प्रभावशाली जित दर्ता गर्यो । आर्मीको जितमा निराजन धामीले दुई गोल गर्दा नवयुग श्रेष्ठ, नबिन लामा र जिलेस्पी जंग कार्कीको नाममा एक–एक गोल रह्यो ।
त्यसैगरी दशरथ रंगशाला मै भएको दिनको तेस्रो तथा अन्तिम खेलमा प्लानिङ ब्वाईजले नेपाल पुलिस क्लबलाई १–० को अन्तरले स्तब्ध बनायो । प्लानिङ ब्वाईजका लागि शंकर थारुले एक मात्र निर्णायक गोल गर्दै टोलीको खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भए ।