News चीन र दक्षिण कोरिया सेमिफाइनलमा, सेमिफाइनल समिकरण पनि पूरा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साउदी अरेबियामा जारी एएफसी यु–२३ एसियन कप पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोलीहरुको पनि टुंगो लागेको छ ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा चीनले गत संस्करणको उपविजेता उज्वेकिस्तानलाई र चौथो क्वाटरफाइनलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई हराउँदै सेमिफाइनल प्रवेश गरेपछि सेमिफाइनल प्रवेश गर्ने थप दुई टोलीहरुको टुंगो लागेको हो । उता जापान र भियतनामले भने यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेका छन् ।

जेद्दाह शहरमा भएको तेस्रो क्वाटरफाइनलमा चीनले उज्वेकिस्तानलाई पेनाल्टी शुटआउटमा स्तब्ध बनायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा चीनले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्यो । त्यस्तै चौथो क्वाटरफाइनलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

अब २० जनवरीका दिन हुने दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा जापानले दक्षिण कोरियाको सामना गर्नेछ भने सोही दिन दोस्रो सेमिफाइनलमा भियतनामले चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments