News दोस्रो देवदह कप शुरु, आयोजक निलोको विजयी शुरुवात
सुरज राना मगर

खैरेनी । रुपन्देहीको देवदह खैरेनीमा सोमबारदेखि शुरु दोस्रो देवदह कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक डि युनिटी युवा क्लब (निलो) ले विजयी शुरुवात गरेको छ ।

देवदह खैरेनी स्थित पानबारी खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक डि युनिटी (निलो) ले बुद्धिभूमि फुटबल एकेडेमीमाथि १–० को साँघुरो जित हात पार्दै विजयी शुरुवात गरेको हो ।

आयोजकको जितमा खेल शुरु भएको चौथो मिनटमै केशव कुमालले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता कुमाल नै खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत माघ २७ गते मंगलबारको खेल सितलापुर युवा क्लब र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले गरेका थिए । डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ८ गतेका दिन हुने समेत संयोजक घलेले बताए । घलेका अनुसार प्रतियोगिता आयोजनाले देवदह नगर भित्रका स्थानीय युवाहरुलाई गलत बाटोमा लाग्नबाट रोकेर खेलकुद गतिविधीमा लाग्न प्रोत्साहित गर्ने विश्वास आफूहरुले लिएको बताए ।

Post Comments