रामधुनी । शान्तिनगर फुटबल क्लब, इटहरी सुनसरीमा जारी दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा शान्तिनगरले आयोजक जुडी फुटबल क्लब (निलो), रामधुनीलाई ४–१ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
शान्तिनगरको जितमा उमेश कार्कीले ह्याट्रिक गर्दा थप एक गोल चिरन मगरको नाममा रह्यो । उता पराजित जुडी (निलो) का लागि भने सुमन लिम्बुले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा ह्याट्रिक गरेका शान्तिनगरका उमेश कार्की म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत माघ ८ गतेको पहिलो सेमिफाइनल खेल आयोजक जुडी फुटबल क्लब (रातो), रामधुनी र हरैचा स्पोर्टस क्लब, हरैचा बीच हुने आयोजकले जानकारी दियो ।
जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।