निजगढ । एभरेष्ट एकेडेमी, लालबन्दी, सर्लाही यहाँ जारी चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ एभरेष्टले रतनपुर युनाइटेड क्लब, निजगढ–११, रतनपुर, बारालाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
बुद्ध चोक मिनी स्टेडियममा भएको खेलमा एभरेष्ट एकेडेमीका लागि समिर राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच भने एभरेष्ट एकेडेमी कै मुन्ना चौधरी घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ ११ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल हरिपुर युनाइटेड क्लब, हरिपुर–२, सर्लाही र आयोजक योङ स्टार युनाइटेड क्लब, निजगढ, बाराबीच हुनेछ ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।
