News युनाइटेड आठौं बसन्त कपको सेमिफाइनलमा
गोलनेपाल

सरावल । युनाइटेड युवा क्लब, हुप्सेकोट–२, गिरुबारी, नवलपरासीमा जारी आठौं बसन्त कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ युनाइटेडले आयोजक बसन्त युवा क्लब, सरावल–१, बसही, नवलपरासीलाई पेनाल्टी शुटआउटमा ८–७ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ युनाइटेडका लागि दुवै गोल रबिन नेपालीले गरे भने बसन्तका लागि अंकित रास्कोटीले गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा युनाइटेडसँग घरेलु टोली निराश बन्यो । खेलमा युनाइटेडका रबिन नेपाली म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ११ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल राइजिङ स्टार फुटबल क्लब, भुमही, नवलपरासी र मेस्सी फुटबल क्लब, रुपन्देहीबीच हुने आयोजकले जानकारी दियो ।

बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १६ गतेका दिन हुनेछ ।

 

Post Comments