News युनाइटेड युवा क्लब चौथो ल्होछार कपको सेमिफाइनलमा
गोलनेपाल

निजगढ । पेनाल्टीको सहारा लिंदै युनाइटेड युवा क्लब, बर्दिबास, महोत्तरी यहाँ जारी चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ युनाइटेडले निजगढ फुटबल क्लब, बारालाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यसअघि बुद्धचोक मिनी स्टेडियममा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ युनाइटेडका लागि सागर कटवालले गोल गरे भने निजगढका लागि समिर माझीले गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा युनाइटेडले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा युनाइटेडका गोलरक्षक सागर सुस्लिङ म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत माघ १३ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल निजगढ सिटी क्लब, बारा र मरिण स्पोर्टस क्लब, सिन्धुलीबीच हुने आयोजकले जानकारी दियो ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।

 

Post Comments