News साथीभाई र कुम्मायक कुसायक प्रथम लिङ्तेप गोल्डकपको फाइनलमा भिड्ने
गोलनेपाल

मेरिङदेन । साथीभाई सामाजिक युवा क्लब, फुङलिङ र कुम्मायक कुसायक क्लब, पाँचथर जारी प्रथम लिङ्तेप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई सेमिफाइनलतर्फ आ–आफ्नो खेलहरुमा जित हात पार्दै साथीभाई र कुम्मायक कुसायकले उपाधि भिडन्त पक्का गरेका हुन् ।

दिनको पहिलो खेल र पहिलो सेमिफाइनलमा साथीभाईले लालीमा क्लब, ढुङ्गेसाघुलाई ३–० ले हराउँदै फाइनल प्रवेश गर्यो । साथीभाईको जितमा जमिन लक्षमले दुई गोल गर्दा थप एक गोल पवन नियोङले गरे । खेलको म्यान अफ दि म्याच पनि पवन नियोङ नै चुनिए ।

त्यस्तै दिनको दोस्रो खेल तथा दोस्रो सेमिफाइनलमा कुम्मायक कुसायकले आयोजक प्रगतिशील युवा क्लब, ताप्लेजुङको चुनौति २–१ ले पन्छाउँदै उपाधि नजिक पुग्यो । कुम्मायक कुसायकको जितमा लोकेन्द्र थापाले दुवै गोल गरे । उता पराजित प्रगतिशीलका लागि भने सबिन तामाङले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा कुम्मायक कुसायकका सुशिल लावती म्यान अफ दि म्याच चुनिए ।

प्रगतिशील युवा क्लब, मेरिङ्देन–४, लिङ्तेप, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,०८२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १३ गतेका दिन हुनेछ ।

 

 

Post Comments