सरावल । भैरव स्पोर्टस क्लब, नवलपरासी घरेलु जिल्ला मै जारी आठौं वसन्त कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा भैरवले फर्साटिकर युवा क्लब, रुपन्देहीलाई २–० ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो । भैरवको जितमा सुजल क्षेत्री र बिमल घर्ती मगरले गोल गरे । खेलमा भैरव कै गोलकर्ता सुजल क्षेत्री म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत माघ १३ गते मंगलबारको पहिलो सेमिफाइनल खेल हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, रुपन्देही र युनाइटेड युवा क्लब, हुप्सेकोट–३, गिरुबारी, नवलपुरबीच हुने आयोजकले जानकारी दियो ।
बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १६ गतेका दिन हुनेछ ।
