निजगढ । घरेलु टोली निजगढ सिटी फुटबल क्लब, बारा यहाँ जारी चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा निजगढ सिटीले मरिण स्पोर्टस क्लब, सिन्धुलीलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
बुद्ध चोक मिनटी स्टेडियममा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा निजगढ सिटी ६–५ ले विजयी बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत माघ १४ गते बुधबारको पहिलो सेमिफाइनल खेल एभरेष्ट एकेडेमी, लालबन्दी, सर्लाही र युनाइटेड युवा क्लब, बर्दिबास, महोत्तरी बीच हुने आयोजकले जानकारी दियो ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।

