सरावल । युनाइटेड युवा क्लब, नवलपुर, नवलपरासी जिल्लाको सरावल गाउँपालिकामा जारी आठौं वसन्त कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलतर्फ युनाइटेडले हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका, रुपन्देहीलाई ३–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
युनाइटेडको जितमा मन्नु कुमालले दुई गोल गर्दा थप एक गोल रबिन नेपालीले गरे । उता पराजित हिमालयका लागि भने निशान्त क्षेत्रीले एक मात्र गोल फर्काएका थिए । खेलमा युनाइटेडका मन्नु कुमाल म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ १४ गते बुधबारको दोस्रो सेमिफाइनल खेल नवलपरासीका दुई टोलीहरु राइजिङ स्टार फुटबल क्लब र भैरव स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।
बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १६ गतेका दिन हुनेछ ।
