News होराइजन क्लब २६औं आदर्श कपको फाइनलमा, उपाधिका लागि गण्डकी प्रहरीसँग भिड्ने
गोलनेपाल

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर - २९ भण्डारढिक स्थित लेखनाथ रङ्गशालामा फर्स्ट च्वाईस फुड्स लिमिटेडको मुख्य प्रायोजनमा आदर्श युथ क्लबले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो सेमीफाइनल खेल होराइजन क्लब वालिङ स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको प्रतिस्पर्धा सम्पन्न भएको छ ।

उक्त खेलमा म्याग्दीलाई एक शुन्यको साँघुरो नतिजामा पराजित गर्दै होराइजन क्लब वालिङ स्याङ्जाले उपाधिका लागि गण्डकी प्रदेश प्रहरीसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको हो। पहिलो हाफ दुवै टोली गोल रहित बराबरीमा खेल्दा दोस्रो हाफ रोमाञ्चक बनेको थियो।

स्याङ्जालाई उपाधि नजिक पुर्याउनका लागि खेलको ७३ औं मिनेटमा विश्व थापाको असिस्टमा टिकाराज गुरुङले सुन्दर गोल गरेका थिए। त्यसपश्चात् बाँकी समय दुवै टोलीबाट गोल हुन नसक्दा उक्त खेलको नायक टिकाराज गुरुङ बनेका हुन् ,साथमा उनले नगद रु. ५,००० सहित ट्रफी पनि प्राप्त गरेका छन्।

उपाधिका लागि होराइजन क्लब वालिङ स्याङ्जाले शुक्रबार गण्डकी प्रदेश प्रहरीसँग दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

Post Comments