सरावल । प्रतिस्पर्धात्मक जितका साथ भैरव स्पोर्टस क्लब, नवलपरासी घरेलु जिल्ला मै जारी आठौं वसन्त कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा भैरवले राइजिङ स्टार फुटबल क्लब, भूमही, नवलपरासीलाई ३–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । भैरवको जितमा निराजन खत्री, बिमल घर्ती मगर र हिमाल घर्ती मगरले गोल गरे । उता पराजित राइजिङका लागि दुवै गोल सुरज चौधरीले गरेका थिए ।
खेलमा भैरवका निराजन खत्री म्यान अफ दि म्याच चुनिए । अब भैरवले यही माघ १६ गतेका दिन हुने फाइनलमा युनाइटेड युथ क्लब, नवलपरासीसाग उपाधिका लागि भिड्नेछ ।
बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
