News आयोजक इण्डोनेसिया, इराक, थाइल्याण्ड र भियतनाम नकआउट चरणमा
गोलनेपाल

काठमाडौं । आयोजक इण्डोनेसियासँगै इराक, थाइल्याण्ड र भियतनाम एक खेल खेल्न बाँकी छँदै जारी एएफसी फुटसल एसियन कपको नकआउट चरणमा प्रवेश गरेका छन । समूह ए बाट इण्डोनेसिया र इराक तथा समूह बी मा थाइल्याण्ड र भियतनामले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

समूह ए तर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा इराकले दक्षिण कोरियालाई ३–२ ले हरायो भने इण्डोनेसियाले किर्गिस्तानलाई ५–३ ले पराजित गर्यो । समूह ए मा दुई खेलहरुको समाप्ती पश्चात् समान ६–६ अंक जोडेका इण्डोनेसिया र इराक क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । साथै दुवै टोली एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अंकविहीन किर्गिस्तान र दक्षिण कोरिया भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् । साथै दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् । अब समूह चरणको अन्तिम खेलमा ३१ जनवरीका दिन इण्डोनेसियाले इराकको सामना गर्नेछ भने सोही दिन दक्षिण कोरिया र किर्गिस्तान पनि भिड्नेछन् । साथै सोही दिन समूह विजेता र उपविजेता टोलीको पनि टुंगो लाग्नेछ ।

त्यस्तै समूह बी तर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा भियतनामले लेबनानलाई २–० ले हराउँदा थाइल्याण्डले कुवेतमाथि ६–१ को फराकिलो जित दर्ता गर्यो । दुई खेलपछि समान ६–६ अंक जोडेका थाइल्याण्ड र भियतनाम समूह बी को क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । र एक खेल अघि नै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अंकविहीन लेबनान र कुवेत भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् । साथै दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् । अब समूह चरणको अन्तिम खेलमा ३१ जनवरीका दिन थाइल्याण्डले भियतनामको सामना गर्नेछ भने सोही दिन कुवेतले र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । साथै सोही दिन समूह विजेता र उपविजेता टोलीको पनि टुंगो लाग्नेछ ।

 

 

Post Comments