अर्जुनधारा (झापा) । बुद्धशान्ति गाउँपालिका यहाँ जारी झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकालाई सडनडेथमा पराजित गरेर बुद्धशान्ति उपाधि होडमा उक्लिएको हो ।
अर्जुनधारा खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले कमललाई ६-५ गोलअन्तरले पराजित गरेर उपाधि नजिक पुगेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
टाइब्रेकरमा पनि समान ४-४ गोल भएपछि खेल सडनडेथमा पुगेको हो । बुद्धशान्ति गाउँपालिकाको जितमा फेरि गोलरक्षक रिजन ल्वागुन लक्की भए । उनले कमलका कप्तान निमा तामाङको प्रहार रोकेपछि फाइनल यात्रा पक्का भएको हो ।
कमल गाउँपालिकाका लागि सुहान श्रेष्ठ, कविन भट्टराई, अशोक सम्बाहाम्फे, साहिल लिम्बू र प्रशन विश्वकर्माको प्रहार गोलमा परिणत हुँदा अंगुश श्रेष्ठको प्रहार बाहिरिएको थियो ।
यसैगरी, बुद्धशान्तिका मनिष केदेम, समिर लिम्बू, सन्दिप लिम्बू, आदित्य केरुङ, अंशु लिम्बू र सुरज मावो लिम्बूको प्रहार गोलमा परिणत हुँदा अनिल गिरीको प्रहार बाहिरिएको थियो ।
बुद्धशान्तिका गोलरक्षक रिजन प्लेयर अफ दी म्याच बने । उनले नगद २ हजार ५ सयसहित ट्रफी पाए । यसअघिको क्वाटरफाइनल खेलमा पनि सडनडेथमै ३ प्रहार रोकेर प्लेयर अफ दी म्याच बनेका थिए ।
बुद्धशान्तिकाे जितसँगै फाइनलमा एउटा पालिका र अर्काे नगरपालिका उपाधि भिडन्तमा हुने निश्चित भएकाे छ । बुद्धशान्तिले कम्तिमा नगद ५० हजार र ट्रफी सुरक्षित गर्याे ।
शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगितामा भोलि (शनिबार) मेचीनगर नगरपालिकाले भद्रपुर नगरपालिकासँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । ९ वटा पालिकाको टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।
सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद ७ हजार पाउँदा विधागत विजेता खेलाडीले जनही ५-५ हजार पाउने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा