मुर्गिया । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी सैनामैना वार्ड लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न भएका दुई खेलहरुमा वार्ड नम्बर ४ र वार्ड नम्बर ११ ले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
सैनामैना रंगशालामा भएको समूह बी तर्फ दिनको पहिलो खेलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर ८ लाई ८–० को फराकिलो अन्तरले हरायो । वार्ड नम्बर ४ को जितमा निशान्त न्यौपानेले ह्याट्रिक गरे भने राकेश गुरुङ, राजिव चापागाईं, आर्यन खाम्चा, रितिक परियार र प्रसर बस्नेतले समान एक–एक गोल गरे । खेलमा ह्याट्रिककर्ता वार्ड नम्बर ४ का निशान्त न्यौपाने म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दिनको दोस्रो खेलमा समूह सी तर्फ वार्ड नम्बर ११ ले वार्ड नम्बर ५ लाई २–१ को अन्तरले पराजित गर्यो । वार्ड नम्बर ११ को जितमा सुसव जिएम र दिपक थारुले गोल गरे । उता पराजित वार्ड नम्बर ५ का लागि भने लोकेन्द्र बुढाले गोल गरेका थिए । खेलमा वार्ड नम्बर ५ का गोलरक्षक बिबेक थापा मगर म्यान अफ दि म्याच चुनिए ।
मुर्गिया फुटबल क्लब, सैनामैना–४, रुपन्देहीको आयोजना तथा सैनामैना नगर खेलकुद विकास समिति, रुपन्देहीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । लिगकम नकआउटका आधारमा जारी प्रतियोगिताको फाइनल खेल भने माघ २८ गतेका दिन हुनेछ ।