पालडाँडा । उत्कृष्ट जितका साथ भैरव स्पोर्टस क्लब नवलपरासीमा जारी पालडाँडा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा भैरवले डिवाईडिए, दुम्कीबासलाई ४–१ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । भैरवको जितमा बिमल घर्ती मगरले दुई गोल गर्दा मिलन आले र नबिन महतोले समान एक–एक गोल गरे । उता पराजित डिवाइडिएका लागि बसन्त कुमालले एक मात्र गोल गरेका थिए । खेलमा दुई गोल गरेका भैरवका बिमल घर्ती मगर म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ १७ गते शनिबारको दोस्रो सेमिफाइनल खेल अभिषेक चर्च फुटबल क्लब, रजहर र राइजिङ स्टार फुटबल क्लब, नवलपरासीबीच हुने आयोजकले जानकारी दियो ।
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १९ गतेका दिन हुनेछ ।
Photo: Chyang Mgr/JhorleyStudio
