इटहरी । धरान हाई सेकेण्डरी स्कुल, धरान, विश्व आदर्श स्कुल, इटहरी र धरान आदर्श कलेज, धरानले यहाँ जारी १२औं हिसान स्पोर्टस मिटतर्फ जारी हिसान कप छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।
शान्तिनगर फुटबल मैदानमा भएको दिनको पहिलो खेलमा धरान हाईले बिष्णु मेमोरियल इङलिस स्कुल, धरानलाई ३–० ले हरायो । धरान हाईको जितमा नानुहाङ राई, कृष्ण खत्री र बिपन मगरले गोल गरे । खेलमा धरान हाई कै रोहन राई म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा विश्व आदर्शले सि.बी. स्कुल, इटहरीलाई १–० ले पराजित गर्यो । विश्व आदर्शको जितमा साजन कार्कीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता विश्व आदर्शका साजन कार्की नै म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दिनको तेस्रो खेलमा धरान आदर्शले नेस्ट कलेज, धरानलाई समान १–० को अन्तरले हरायो । धरान आदर्शको जितमा प्रतिक कटुवालले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने धरान आदर्श कै रोशन राई घोषित भए ।
हिसान सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २८ गतेका दिन हुनेछ ।