मिक्लाजुङ । कानेपोखरी गाउँपालिका, मोरङ यहाँ जारी प्रथम मिक्लाजुङ अध्यक्ष कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ कानेपोखरीले बेलबारी नगरपालिका, मोरङलाई ४–१ ले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । सफेवा खेलमैदानमा भएको खेलमा कानेपोखरीका लागि अभि लिम्बुले दुई गोल गरे भने करन राई र पेशल शर्माले थप एक–एक गोल गरे । उता पराजित बेलबारीका लागि भने सन्देश राईले एक मात्र गोल गरेका थिए । खेलमा कानेपोखरीका दुई गोलकर्ता अभि लिम्बु म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत माघ २० गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिकाबीच हुने आयोजकले जानकारी दियो ।
मिक्लाजुङ युथ क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ २५ गतेका दिन हुनेछ ।
