News न्यु सृजना आठौं सञ्जिवनी कपको क्वाटरफाइनलमा
सुरज राना मगर

बागधुरा । न्यु सृजना युवा क्लब, करौजिया रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

तिलोत्तमा–१४, बागधुरा स्थित सञ्जिवनी खेलमैदानमा सोमबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा न्यु सृजनाले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई ४–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । खेलमा न्यु सृजनाका समिर नेपाली म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २० गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर र समपुर्ण युवा क्लब, सुपौलीबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

Post Comments