News फराकिलो जितका साथ फर्साटिकर लगातार तेस्रोपटक फाइनलमा
सुरज राना मगर

बागधुरा । साविक विजेता तथा लगातार दुईपटकको विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सञ्जिवनी कपमाथि ह्याट्रिक जमाउने दाउमा रहेको फर्साटिकरले शनिबार भएको पहिलो सेमिफाइनलमा अमुवा युवा क्लब, अमुवालाई ९–१ को फराकिलो अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो ।

तिलोत्तमा–१४, बागधुरा स्थित सञ्जिवनी खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि आशिष रानाले ह्याट्रिक गर्दा अवतार थापाको नाममा दुई गोल रह्यो । त्यस्तै सुजन राना, आकाश थापा र बिबेक थारुले समान एक–एक गोल गर्दा थप एक गोल निशान मगरले आत्मघाती गोलका रुपमा गरेका थिए । उता पराजित अमुवाका लागि भने बलराम न्यौपानेले एक मात्र गोल फर्काएका थिए ।

खेलमा ह्याट्रिक गरेका फर्साटिकरका आशिष राना म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २५ गते आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक सञ्जिवनी युवा क्लब, बागधुरा र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments