News १५औं खुम्बु ल्होसार कपमा आइतबार तीन खेलहरु सम्पन्न
गोलनेपाल

काठमाडौं । महेंद्र ज्योति पूर्व विद्यार्थी फोरमद्वारा आयोजित १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न दोस्रो दिनको पहिलो खेलमा खुम्जुङ युथ क्लबले खुम्बु याम्बु शेर्पा सोसाइटीलाई १–० गोल अन्तरले पराजित गरेको छ।

खेलको चौथो मिनेटमै पासाङ छेरिङले निर्णायक गोल गर्दै खुम्जुङ युथ क्लबलाई विजयी बनाए। उत्कृष्ट प्रदर्शनका कारण पासाङ छेरिङ नै खेलको प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा नाम्चे युथ ग्रुपले थामिछोवा फुटबल टिमलाई २–० गोल अन्तरले हराएको छ। नाम्चेको जितमा बिशाल मगरले ६५औँ मिनेटमा पहिलो गोल गरे भने सुदिप राईले ७०+२ मिनेटमा दोस्रो गोल थपे। यस खेलमा उत्कृष्ट खेल प्रस्तुत गरेका तेन्जिङ फुन्सोक शेर्पा प्लेयर अफ द म्याच घोषित भए।

त्यसैगरी तेस्रो खेलमा खुम्बु युनाइटेड क्लबले आमादाब्लाम युथ क्लबलाई २–१ ले पराजित गरेको छ। खुम्बु युनाइटेडका लागि खेलको ४० मिनेटमा मिङ्मा राजभण्डारीले गोल गरे भने ६९औँ मिनेटमा तेन्जिङ डेभिड शेर्पाले अर्को गोल थपे। आमादाब्लाम युथ क्लबका लागि एक गोल भए पनि खेल जोगाउन पर्याप्त हुन सकेन। उत्कृष्ट प्रदर्शन गरेका मिङ्मा राजभण्डारी यस खेलका प्लेयर अफ द म्याच बने।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ८० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले नगद ४० हजार पाउनेछ । फाइनल खेल भने फागुन ३ गतेका दिन हुनेछ ।

Post Comments