धरान । दुवै टोली दश खेलाडीमा सिमित बनेको खेलमा चर्च ब्वाईज युनाइटेडले नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीमा जारी २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
चर्च ब्वाईजका लागि खेल शुरु भएको पहिलो मिनट भित्रै रिचार्ड विलसनले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । त्यसो त खेलमा दुवै टिम दश खेलाडीमा समेत खुम्चिएको थियो । पहिलो गोल भएको केही मिनट लगतै पुलिसका सञ्जिव लामा र चर्च ब्वाईजका दिपेश गुरुङ हातपातमा उत्रिदा दुवै खेलाडीले रातो कार्ड पाएका थिए ।
खेलमा निर्णायक गोल गरेका चर्च ब्वाईजका रिचार्ड विलसन नै खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत माघ २६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल धरान फुटबल क्लब, सुनसरी र लालीगुराँस एसोसिएशन, पोखरा बीच हुने आयोजकले जानकारी दियो ।
धरान फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २ गतेका दिन हुनेछ ।
