सैनामैना । मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गिया, रुपन्देहीको आयोजना तथा सैनामैना नगर खेलकुद विकास समिति, सैनामैनाको विशेष सहयोगमा सम्पन्न प्रथम सैनामैना वार्ड लिग फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १ ले जितेको छ ।
सैनामैना रंगशालामा भएको फाइनल भिडन्तमा वार्ड नम्बर १ ले वार्ड नम्बर ४ लाई २–० को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । वार्ड नम्बर १ को जितमा खेलको ६३ र ६७औं मिनटमा सुवास नेपाली एक्लैले निर्णायक दुई गोल गर्दै टोलीको जितमा नायक बने ।
विजेता बनेको वार्ड नम्बर १ ले ३५ तोला चाँदी र सुन जडित आकर्षक रनिङ ट्रफीका साथ नगद १ लाख हात पार्यो भने उपविजेता वार्ड नम्बर ४ ले ५० हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सेमिफाइनलमा पराजित भएका दुई टोली वार्ड नम्बर ७ र वार्ड नम्बर ११ ले जनही नगद १०–१० हजार हात पारे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्मा, आयोजक मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रबिन भारी, सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठ, सैनामैना वार्ड नम्बर ४ का वार्ड अध्यक्ष रामप्रसाद अधिकारी लगायतले पुरस्कृत गरेका थिए ।
नगरभित्रका स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा सैनामैना नगरका कुल ११ वार्डका फुटबल टोलीहले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।