News आयोजक केराबारीलाई मच्छिन्द्र गोल्डकपको उपाधि
गोलनेपाल
  • सन्तोष गुरुङ

केराबारी । केराबारी–८, मोरङस्थित मच्छिन्द्र रंगशालामा सम्पन्न चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप २०८२ मा आयोजक केराबारी फुटबल क्लब, मोरङले झापा–११, बिर्तामोड (झापा) लाई फाइनलमा १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको छ।

माघ २८ गतेदेखि सुरु भएको प्रतियोगिताको समापन फागुन ६ गते सम्पन्न भएको हो। प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ ०–० को बराबरीमा सकिएको थियो भने दोस्रो हाफको चौँथो मिनेटमै भुवन बस्नेतले गरेको निर्णायक गोल नै उपाधि निर्धारणको आधार बन्यो।

झापा–११ ले बराबरीका लागि अन्तिमसम्म प्रयास गरे पनि केराबारीको सुदृढ रक्षापंक्तिले अग्रता जोगाउँदै घरेलु टोलीलाई च्याम्पियन बनायो। विजेता केराबारीले नगद रु ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता झापा–११ ले रु २ लाखसहित ट्रफी हात पार्यो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधागत पुरस्कारसमेत प्रदान गरियो, जसअन्तर्गत सर्वोत्कृष्ट फरवार्ड निखिल तामाङ (झापा–११), सर्वोत्कृष्ट गोलकिपर विवेक मगर (केराबारी), सर्वोत्कृष्ट डिफेन्डर सुजन रासाइली (केराबारी), सर्वोत्कृष्ट मिडफिल्डर निकेश श्रेष्ठ (झापा–११), राइजिङ स्टार अनिल परियार (केराबारी), सर्वाधिक गोलकर्ता निखिल तामाङ (झापा -११ ) र भुवन बस्नेत (केराबारी ), सर्वोत्कृष्ट प्रशिक्षक सबिन याखा (केराबारी), प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी भुवन बस्नेत (केराबारी), फाइनल खेलको म्यान अफ द म्याच महेन्द्र कार्की (केराबारी) तथा फ्यान अफ द म्याच सहनी रसाइली घोषित भए।

प्रतियोगिताको आयोजना केराबारी फुटबल क्लब, मोरङले गरेको हो भने मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको थियो। हजारौं दर्शकको उपस्थितिमा सम्पन्न यस संस्करणले स्थानीय फुटबल विकासमा नयाँ उत्साह थप्दै केराबारीलाई ऐतिहासिक सफलता दिलाएको छ।

Post Comments