काठमाडौं । हिमालयन फुटबल क्लब, मलेसियाको आयोजनामा सम्पन्न प्रतिष्ठित आठौं हिमालयन गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक हिमालयन फुटबल क्लबले नै जितेको छ ।
मलेसियाको शाह आलामस्थित पानासोनिक स्पोर्टस कम्प्लेक्समा भएको फाइनलमा हिमालयनले आर.टी.एफ.सी. लाई ३–१ ले हराउँदै आठौं संस्करणको उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।
विजेता बनेको हिमालयनले उपाधिसहित नगद ४१,५०० मलेसियन रिंगेट हात पार्यो भने उपविजेता आर.टी.एफ.सी. े नगद २१००० मलेसियन रिंगेटसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक हिमालयनका राजकुमार सुब्बा बन्दा उत्कृष्ट डिफेन्डर हिमालयन कै राजन चौधरी चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर आर.टी.एफ.सी. का सनी चौधरी चुनिदा उत्कृष्ट फरवार्ड हिमालयनका अभिषेक कालिकोटे बने । सर्वाधिक गोलकर्ताको पुरस्कार एन पेनाङ एफसीका बिकास बस्नेतले हात पार्दा उत्कृष्ट प्रशिक्षक हिमालयनका पिटर चुनिए । उत्कृष्ट बनेका सबैले जनही ५०० मलेसियन रिंगेट र ट्रफी हात पारे । त्यसैगरी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बनेका हिमालयनका अजय चौधरीले १००० मलेसियन रिंगेट र ट्रफी प्राप्त गरे ।
मलेसियामा रहेका प्रवासी नेपालीहरुको कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत श्रीमती मुदिता बज्राचार्य, आयोजक क्लबका अध्यक्ष सन्तोष कार्की, नेप्लिज फुटबल एसोसियसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट लगायतले पुरस्कृत गरेका थिए ।