शिवपुर । रुपन्देहीको शैक्षिक क्षेत्रमा अलग र विशिष्ठ पहिचान बनाउन सफल बुटवल पब्लिक स्कुल, तिलोत्तमा–३, रुपन्देहीको आयोजनामा सम्पन्न दोस्रो बुटवल पब्लिक कप यु–१६ अन्तरविद्यालय रात्रीकालिन फुटबल प्रतियोगिताको उपाधि सिद्धार्थ इङलिस बोर्डिङ स्कुलले जितेको छ ।
तिलोत्तमा–११, शिवपुर स्थित आयोजक कै बुटवल पब्लिक स्कुल रिसर्च एण्ड स्पोर्टस सेन्टरको खेलमैदानमा सम्पन्न फाइनलमा सिद्धार्थले जनज्योति माविलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा सिद्धार्थ ३–१ ले विजयी बन्यो ।
विजेता बनेको सिद्धार्थ इङलिस बोर्डिङ स्कुलले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता जनज्योति माविले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
सिद्धार्थका गोलरक्षक अमन क्षेत्री फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक जनज्योतिका युनिक कार्की बन्दा सिद्धार्थका बिशाल बिक सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई आयोजक बुटवल पब्लिक स्कुलका अध्यक्ष हेमलाल शर्मा, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सचिव चन्द्रकान्त आचार्य, आयोजक स्कुलका उपप्राचार्य रामचन्द्र पौडेल, प्रतियोगिता व्यवस्थापक थमन थापा लगायतले पुरस्कृत गरेका थिए ।
विद्यालयस्तरमा युथ लेभलबाटै फुटबल खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक स्कुलका अध्यक्ष हेमलाल शर्माले बताए । साथै रुपन्देहीमा आफूहरुले पहिलोपटक रात्रीकालिन फुटबल प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियोगितालाई आगामी संस्करणहरुमा थप उत्कृष्ट र भव्य बनाउने समेत बताए ।