News एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि
गोलनेपाल

त्रियुगा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा उदयपुरमा सम्पन्न भएको एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको उपाधि एपिएफ फुटबल क्लबले जितेको छ ।

फाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधिमाथि आफ्नो पकड जमाउन सफल भएको हो । थरुहट रंगशालामा भएको खेलमा सबै गोलहरु दोस्रो हाफमा सम्भव भए ।

खेलको ५५औं मिनटमा गीता रानाको गोलबाट अग्रता बनाएको एपिएफका लागि ६८औं मिनटमा रेनुका नगरकोटेले दोस्रो गोल गरेकी थिईन् । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो । उता आर्मीका लागि ७२औं मिनटमा जेनिफर रानाले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।

विजेता बनेको एपिएफ फुटबल क्लबले उपाधिसहित नगद ७ लाख ५० हजार रुपैयाँ हात पार्दा उपविजेता आर्मी फुटबल क्लबले ५ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।

आर्मीकी दिपा शाही प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बनिन् । त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार एपिएफकी क्रमशः अन्जना राना मगर र रश्मी कुमारी घिसिङ चुनिईन् । विद्यागततर्फ उत्कृष्ट बनेका सबैले जनही ५०–५० हजार र ट्रफी हात पारे ।

Post Comments