News रुपन्देहीमा मणिग्राम युनाइटेड फुटसल कप शुरु
सुरज राना मगर

बुटवल । खेलकुद र समाज रुपमान्तरणको अभियानमा हातेमालो गर्ने उद्देश्यका साथ युवाहरुको समूहद्वारा स्थापित मणिग्राम युनाइटेड, तिलोत्तमा, रुपन्देहीको आयोजनामा शनिबारदेखि ‘मणिग्राम युनाइटेड फुटसल कप’ खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।

स्वर्णिम फुटसलमा शुरु भएको दुई दिने प्रतियोगिताको पहिलो दिन क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । साथै सेमिफाइनल पुग्ने चार टोलीहरुको पनि टुंगो लागेको छ । जसमा आयोजक मणिग्राम युनाइटेडसँगै नयाँ गाउँ युनाइटेड, खस्यौली एफसी र होराइजन जिबिएस रहेको प्रचार प्रसार संयोजक सन्तोष खत्रीले बताए ।

त्यस्तै प्रतियोगिताको सेमिफाइनल, फाइनल र समापन कार्यक्रम फागुन १० गते आइतबार हुने प्रतियोगिता संयोजक मदन सलामीले जानकारी दिए । त्यसअघि प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष, सामाजिक अभियन्ता गणेश पाठक, विशिष्ठ अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष रमेश डुम्रेले संयुक्त रुपमा गरेका थिए ।

कुल २० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम व्यवस्थापक दिपेन बुढाथोकीले जानकारी दिए ।

Post Comments